काठमाडौँ । शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा चोट लागेको हाे । अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई प्रहरीले पानीको फोहोरा प्रहार गर्दा चोट लागेको थियो । आइतबार नयाँबानेश्वरमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
यस घटनाप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानआकर्षण भएको जनाएकाे छ । प्रेस चाैतारी नेपालले समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न राज्यसँग जोडदार माग गरेकाे छ ।
यस्ताे प्रेस चाैतारीकाे विज्ञप्ति
प्रेस विज्ञप्ती
काठमाडौंको नयाँ बानेश्वरमा आज २०८२ बैशाख १४ गते शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानआकर्षण भएको छ ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा आँखामा परेर पत्रकार कार्कीको दुबै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको छ ।
नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी श्रमजीवी पत्रकारमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भत्सर्ना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको व्यबस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग जोडदार गर्दछ ।
हिरामान लामा
महासचिव