काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजको लोगो गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राइनोजले मंगलबार टिमको लोगो सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिङ्गे गैँडा र जैविक विविधतालाई लोगोमा झल्काइएको छ । लोगोले चितवनको हृदयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैँडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ ।
चितवन राइनोजले मैदान उत्रिँदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभूमिलाई सम्मान गर्दै एउटा महान् लक्ष्यका साथ अघि बढ्न सम्पूर्णमा अपिलसमेत गरेको छ ।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एकसाथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौँ । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो,’ उनले भनेका छन् ।