काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशीलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।