ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ सहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उहाँले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने स्प्ष्ट पार्नुभयो । प्रधानमन्त्रीले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गर्नुभयो ।![](https://satyaaawaaj.com/assets/img/post/conj%20pm%201.jpg)
कोन्ज्योसोम गाउँपालिकाद्वारा गत बिहीबार बुद्धजयन्तीका दिन गाउँपालिका वडा नंं ५ फूलबारी डाँडाँ भारदेउ स्थित् कोन्ज्योसोम त्रिमूर्ति प्रतिमाको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै कोन्ज्योसम क्षेत्रमा ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने जोड दिनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।![](https://satyaaawaaj.com/assets/img/post/conjo%20pm%202.jpg)
यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सकिने प्रधानमन्त्री प्रचण्डले जोडदिनुभयो ।![](https://satyaaawaaj.com/assets/img/post/conjo%20pm%203.jpg)
ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रको सबलीकरण एवम् विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्ग्यानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवम् गाउँपालिकाभित्र विद्यमान सबै साधन स्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।![](https://satyaaawaaj.com/assets/img/post/conjo%20pm%204.jpg)
“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाटयस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”
प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामाले कोन्ज्योसोम प्रतिमा दक्षिण ललितपुरको क्षेत्रको मात्र नभइ नेपालकै प्रमुख पर्यटकीय क्षेत्र बन्ने सक्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाले गाउँ गौरवको योजना अन्तर्गत कोन्ज्योसम प्रतिमाको उद्घाटन सम्पन्न भएको चर्चा गर्दै उहाँले उक्त प्रतिमा संभवत नेपालकै लागि नमूनाको भएको दावी गर्नुभयो । ![](https://satyaaawaaj.com/assets/img/post/conjo%20pm%208.jpg)
कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा रहेको छ । ‘स्वयम्भुमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बीचको मूर्ति ५६ फिटको रहेको जनाइएको छ । यसैगरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ,। अहिले कोन्ज्योसोमलाई गाउँपालिकाले गाउँ गौरवको योजनाको रुपमा घोषणा गरेको छ । गाउँपालिकाको नाम कोन्ज्योसोमकै नामबाट राखिएकाले पनि गाउँपालिकाले यसलाई गाउँ गौरवको योजनाको रुपमा राखेको गाउँपालिकाले जनाएको छ । भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ । कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको छ । कोन्ज्यसोको अर्थ भगवान् हो भने सोमको अर्थ त्रिदेव भएको अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।
त्रिदेव भनेको ब्रह्मा, विष्णु र महेश्वर हो । लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन् । बुद्धरत्न, धर्मरत्न, संघरत्न हो । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ । ![](https://satyaaawaaj.com/assets/img/post/conjo%206.jpg)
बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिको समूह मात्र बौद्ध संघ हुन्छ । बौद्ध सभ्यताको यसै नामबाट कोन्ज्योसोम गाउँपालिकाले पहिचान पाएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा उक्त क्षेत्रका प्रतिनिधि तथा प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन महाँकाल गाउँपालिका अध्यक्ष गणेश केसी, स्थानीय वुद्धिजिवी शिक्षक, विभिन्न पेशाकर्मी, गाउँपालिका र सबै वडाका कर्मचारी, गाउँपालिकाका निर्वतमान जनप्रतिनिधि लगायतकाको ठूलो संख्यामा सहभागिता रहेको थियो । ![](https://satyaaawaaj.com/assets/img/post/conjo%20pm%2010.jpg)
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले कोन्ज्योसोम गाउँ गौरवको योजनाको रुपमा रहेको कोन्ज्योसोम प्रतिमाको प्रधानमन्त्रीबाट भव्य र सव्यरुपमा उद्घाटनसहित सम्पन्न हुनु गाउँपालिकाका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो, भने गाउँपालिका निवर्तमान अध्यक्ष गोपीलाल सितांन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।