काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार उनी एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
त्यस लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । सरकार गठन आह्वानविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेर रिट दायर छन् ।
प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका निवर्तमान मुख्यमन्त्री कार्कीले केही दिन अघिदेखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । प्रदेश प्रमुुख खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए ।