काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।
निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, ‘नियुक्ति मुख्यमन्त्रीको बहुमत रहे नरहेको बहुमतको वैधानिकता परीक्षण प्रदेशसभाबाटै गर्न संवैधानिक, व्यावहारिक र अन्तिम विकल्प हुँदा सो विकल्पको बाटोको प्रयोग नभई अपरिपक्वताको अवस्थामा देखिँदा रिट निवेदनको मागबमोजिमको आदेश जारी गरिरहनपर्ने अवस्थाको विद्यमानता नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ ।’
यसअघि गत चैत २८ गते सर्वोच्चले यो रिटमा अन्तरिम आदेश जारी गर्दै ‘दीर्घकालिन महत्त्वका निर्णय नगर्न’ भनेको थियो । रिट खारेजसँगै अब मुख्यमन्त्री अधिकारीलाई कार्यकारी काम गर्न बाटो खुलेको छ ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी पेस गरेका थिए । सोही दाबीका आधारमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले १५ चैतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारी मुख्यमन्त्री बनेसँगै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति अवैध भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।