काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ९ अवस्थित पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम २०८१ आयोजना हुने भएको छ । मिति २०८१ साल जेठ महिनाको १० गते बिहिवार चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम २०८१ हुने भएको हो ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख महेश खरेलले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहमा पाँचखाल नगर प्रमुख, उप प्रमुख, कार्यपालिका सदस्यहरु १३ वटै वडा अध्यक्षहरु, प्रमुख जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी प्रमुख धुलिखेल, शसस्त्र प्रहरी प्रमुख पाँचखाल, नेपाल आर्मी प्रमुख पाँचखाल लगायत छिमेकि पालिका प्रमुख उप–प्रमुखलाईलगायतको उपस्थिति रहने मुल आयोजक समितिका अध्यक्ष प्रकाश चन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुले सांकृतिक प्रस्तुती रहने छ । दोहोरी गीत, तामाङ सेलो तथा लोक संस्कृति झल्कने संगीतलाई प्राथमिकता दिने श्रेष्ठले बताए ।
स्थानीय कलाकारलाई अवसर प्रदान गर्ने तथा पाँचखाल नगरपालिका भरिका विद्यालयहरुलाई सांस्कृतिक कला प्रस्तुतिमा मौका दिने आयोजकले बताएको छ । मिति २०८१ साल जेठ महिनाको ११ गते दिउसो १ वजे (रथ अवतरण) पश्चात कार्यक्रम संचालन गरी सोहि दिन समापन हुनेछ ।
कार्यक्रमका लक्ष्य तथा उद्देश्यहरूमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने, परम्परागत कला संस्कृतिकलाई नयाँ पुस्तासंग जोड्ने तथा जगेर्ना गर्ने, भक्तजनहरुलाई मनोरञ्जन दिने, स्थानीय पर्वलाई जगेर्ना गरी पलाञ्चोक भगवती मन्दिरको प्रचारप्रसार गर्ने, स्थानीय कलाकारहरुको प्रतिभालाई उजागर गर्ने र कृषि तथा स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्ने रहेका छन् ।
सम्वंत ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापीत भएको हो । स्थापना कालदेखि यहाँ मुख्यतया पलाञ्चोक भगवती र कालिका देविको दुई रथ बोकी बजार परिक्रमा गर्ने गरिन्छ । वडा दशै टिकाको दोस्रो दिन र बुद्ध जयन्तीको दोस्रो दिन चादिका गहनाले सजाइन्छ । पलाञ्चोक भगवती मन्दिर बुद्ध जयन्ती–चण्डी पूर्णिमाको दिन चौबिसै घण्टा खुल्ला रहन्छ । तीन दिन सम्म चल्ने जात्रामा पहिलो दिन साझ बत्ती बाल्ने, दोस्रो दिन चण्डी पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गर्ने चलन रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशको अन्य स्थानबाट हजारौ भक्तजनहरु मेला भर्न उपस्थित भएको पाइन्छ ।