काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको बताएका छन् । नयाँ सत्तासहकार्यमार्फत एमालेविरुद्धको घेराबन्दी तोडिएको उनले उल्लेख गरेका छन् । ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको बताएका छन् ।
'राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ,' उनले लेखेका छन्, 'नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ ।'
सत्तासहकार्य गर्दा एमालेले कुनै स्वार्थलाई केन्द्रमा नराखेको उनले उल्लेख गरेका छन् । 'देश स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो,' उनले लेखेका छन्, 'यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता जोडिएका छन् ।'