मोरङ । कोशी प्रदेशसभाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत लिन निर्देशन दिएको छ । एमाले–माओवादीले पेश गरेको संकल्प प्रस्तावलाई ध्वनी मतका आधारमा पारित गर्दै प्रदेशसभाले कार्कीलाई विश्वासको मत लिन निर्देशन दिएको हो ।
प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत लिन माग गर्दै दर्ता भएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । शुक्रबारको छलफलपछि जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले संकल्प प्रस्तवाको पक्ष विपक्षमा मतदान नहुने जिकिर गर्दै प्रस्तावबाट सरकार फेरबदल नहुने बताएका थिए । तर प्रस्तावक भण्डारीले प्रस्ताव फिर्ता लिन नमानेपछि ध्यनी मतका आधारमा निर्णय भएको हो । ध्वनि मतका आधारमा निर्णय भएपछि एमालेले मत विभाजन मागेको छ ।
संकल्प प्रस्ताव पारित पक्षमा ५२ जना
कोशी प्रदेशसभामा बिहीबार पेस भएको संकल्प प्रस्तावको पक्षामा ५२ जना प्रदेशसभा सदस्य उभिएका छन् । कोशी प्रदेशसभामा ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका हुन् । विपक्षमा भने एक जना पनि उभिएनन् ।
ध्वनी मतले पास भएपछि मत विभाजन गर्ने व्यवस्था नभएको भन्दै कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य सहभागी भएनन् । तीन जना प्रदेशसभा सदस्य भने तटस्थ रुपमा उभिए । सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा भएको संकल्प प्रस्ताव पास भएको हो ।