टनटलापुर घाम लागिरहेको छ । सडकमा सवारी साधनहरु ओहोरदोहोर गरिरहेका छन्
। सडक छेऊको पेटीमा मानिसहरु बाक्लै हिडिरहेका छन् । सडकको बीचमा ट्राफिक
प्रहरी आफ्नै ड्युटीमा ब्यस्त छन् । म यी दृश्य नियाल्दै काठमाडौंको पदमोदय
मोडमा हिडिरहेको छु । पछाडी अफिसको लोगो भएको झोला बोकेर पुतलिसडको
बाटाहरु हिडेको चार बर्ष हुन लागिसक्यो । अझ भनौं पुतलिसडक तिर धाउन थालेको
एकदशक भईसक्यो ।
पुतलिसडकका फुटपाथ बाटोहरुमा मेरो पाइला नपरेको
माटो नै छैन होला जस्तो लाग्छ मलाई । बाटो छेउछाउका केही पसलेहरु चिन्छु
त्यहि यताउति गर्दा यसो हात उठाएर हेल्लो भन्ने भन्दा बाँकि न काम हुन्छ न
संवा । खै मान्छेहरुको भिडमा पनि एक्लो महसुस भईरहेको छ । बाटोमा
हिंडिरहेका मान्छेहरुलाई हेर्छु सबै आफ्नै धुनमा हिंडिरहेका छन् । कोहि
चिल्ला कारहरुमा सुईकिरहेका छन्, कोहि पुराना साईकलहरुमा, सायद सबै आफ्नो
गन्तव्य तिरै लम्किरहेका होलान । हुनत म पनि कामकै लागि हिडिरहेको हुन्छु
। तर जति हिडेपनि म पुतलिसडक भन्दा टाढा पुग्न सकिन ।
बाटोमा
लामबद्द हिँडेको म भन्दा अगाडिको मान्छे हिँड्दै सिहदरबार तिर पुग्छ कोहि
बाटोमा म भन्दा पछाडीका मान्छे शंकरदेव क्याम्पस तिर लाग्छन । त्यहिबाटै
राजनीति गरेर मन्त्रीसम्म बन्छन म भने दिनभर जताजता पुगे पनि फर्केर
पुतलिसडक नै आऊछु । यस्तै कुराहरु सम्झदै बाटोमा हिँडिरहेको थिए । अफिस
अगाडि ढल निर्माण भईरहेको ठाउमा खाल्डोमा खुट्टा परेछ झन्नै लडिन अनि झसङ्ग
भए । फेरि हाँस्दै मनमनै भनेँ बर्षौ साक्षतकार भईरहेको माटोले त लडाउन
खोज्छ भने स्वार्थी मानिसहरुको त झन के आश गरौँ मैले ।
अफिस मा गएँ
घटघट दुई कप पानी पिएँ । केहि बेरमै फेरि भद्रकाली जाने काम पर्यो । फेरि
अफिसबाट निस्केँ । गर्मी समय भएकोले होला बाटोमा हिडन पनि निकै सकस
हुन्थ्यो । शारिरिक कठिनाई त हुने नै थियो तर बाटोमा हिँडदा मनलाई भने
आनन्दित बनाउने प्रयास मा हुन्छु म । फेरि पद्मोदय मोड हुँदै भृकुटीमण्डप
तिर लागेँ । त्यहाँ मानिसहरुको चहलपहल खुबै देखिन्थ्यो । कोहि साना साना
बच्चाहरु लिएर हिडेका थिए । कोहि प्रेमिल जोडि जस्ता देखिन्थे, तर सबै
उमेरकै मानिसहरुका जमात देखिन्थे । फन पार्क भित्र ठूलो रोटे पिङमा
रमाईरहेका मानिसहरुको आवाज उस्तै ठूलो स्वरमा गुन्जिरहेको छ ।
म यी
सब मानिसहरुको गतिविधि हेर्दै अगाडि बढेँ । जब राष्ट्रिय सभागृह हुँदै
अगाडि बढेँ । नब निर्मित धराहरा आफ्नो शिर ठाडो बनाएर उभिईरहेको थियो
।त्यसको अगाडि चौडा छाति बनाएर निर्धक्क बसिरहेको टुडिखेल थियो । सडकमा
आफ्नो गन्तव्य तिर लर्कन लागेका सवारीसाधन हरु हुईकिरहेका थिए । तर अहिले
ती देखिईरहने दृश्य भन्दा सडकका छेउतिर रंगिन भएर फुलेका जाकाराण्डाको
मनमोहक दृश्यले आँखा अन्त मोडनै दिएन ।
यी ढकमक्क फुलेका फुलले
साच्चै मनमा यति आनन्द दिन्थ्यो कि यसको शब्दमा वर्णन गर्न मुश्किल हुन्छ ।
सायद प्रकृतिले पनि मानिसहरुको मनमा शिलता दिनको लागि यस्तै सुन्दरता लिएर
धर्तीमा उभिएको होला । यी मनमोहक दृश्यले मन निकै आनन्दित भयो र उमँगसहित
भद्रकाली पुगेँ । एकजना मानिससँग भेट्ने काम थियो । भेटभएपछि फेरि लागेँ
उहीँ पुतलिसडक तिर ।